वीरगन्ज । वीरगन्जमा जारी प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिताको तेस्रो दिन ज्ञानदा एकेडेमी, साउथ जोन र गौतम माविले आ–आफ्नो खेलमा सानदार जित दर्ता गरेका छन्। प्याब्सन पर्साद्वारा आयोजित यस प्रतियोगिता अन्तर्गत आजका खेलहरू निकै प्रतिस्पर्धात्मक र उत्साहजनक रहे।
दिनको पहिलो प्रतिस्पर्धामा ज्ञानदा एकेडेमीले सिद्धार्थ नेशनल स्कुलमाथि ६४ रनको फराकिलो जित निकाल्यो। टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानदाले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै ११५ रनको बलियो योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सिद्धार्थ नेशनल ज्ञानदाका बलरसामु निरीह देखियो र मात्र ५१ रनमा अलआउट हुन पुग्यो। उत्कृष्ट प्रदर्शन गरेका ज्ञानदाका खिलराज सर्राफ खेलको ुम्यान अफ द म्याचु चुनिए।
दोस्रो खेलमा साउथ जोन स्कुलले सूर्योदय स्कुललाई ६ विकेटले पराजित गर्दै आफ्नो यात्रा अगाडि बढाएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको सूर्योदयले १४ ओभरमा सबै विकेट गुमाएर १०० रन बनाएको थियो। १०१ रनको लक्ष्य पछ्याएको साउथ जोनले ११।४ ओभरमै मात्र ४ विकेटको क्षतिमा विजय प्राप्त गर्यो। यस खेलमा अशोक बैठा म्यान अफ द म्याच घोषित भए।
आजै सम्पन्न तेस्रो तथा अन्तिम खेलमा गौतम माध्यमिक विद्यालयले माउण्ट मकालुलाई ६ विकेटले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको माउण्ट मकालुले १५ ओभरमा ९ विकेट गुमाउँदै मात्र ५२ रन बनाउन सक्यो। ५३ रनको सामान्य लक्ष्य गौतम माविले १०।२ ओभरमा ४ विकेट गुमाएर सहजै पूरा गर्यो। उत्कृष्ट बलिङ र ब्याटिङ सन्तुलन देखाएका गौतमका विराट पाण्डे म्यान अफ द म्याच बन्न सफल भए।
