जनकपुरधाम । राष्ट्रिय सभाका रिक्त चार सदस्य पदका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज भएको मतदान कार्य उत्साहजनक रूपमा सम्पन्न भएको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा मतदाताहरूको सक्रिय सहभागिता रहेको थियो।
कुल ३६४ मतदाता रहेको यस प्रदेशमा अपराह्न समयसम्म ३०० भन्दा बढीले मतदान गरिसकेका थिए। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादव, सभामुख रामआशिष यादव र उपसभामुख बबिता राउत इसर लगायतले मतदान गर्नुभएको छ। ४ सिटका लागि ११ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। यस निर्वाचनलाई प्रदेशको सत्ता समीकरण र दलगत शक्तिको मापनका रूपमा हेरिएको छ।
निर्वाचन अधिकृत सुभासबाबु पुरीका अनुसार मतदान कार्य मर्यादित र संयमित ढङ्गले सम्पन्न भएको छ। अहिले मतपेटिकाहरू गणना स्थलमा लैजाने प्रक्रिया सुरु भइसकेको छ।
“सर्वदलीय बैठक लगत्तै मतगणना सुरु गरिनेछ। कुनै प्राविधिक समस्या नआए आजै रातिसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने हाम्रो लक्ष्य छ,” निर्वाचन अधिकृत पुरीले जानकारी दिनुभयो।
अहिले जनकपुरधामस्थित मतदान स्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ। नयाँ नेतृत्वको प्रतीक्षामा उम्मेदवार र समर्थकहरूबीच निकै उत्सुकता देखिएको छ।
