काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर सकारात्मक काम गर्न खोज्दा दुई ठूला पार्टीले सहन नसकी आफूलाई बाहिर जान बाध्य पारेको आरोप लगाएका छन्।
नेपाली समाज भारतको आयोजनामा नयाँदिल्लीमा सोमबार आयोजित ‘एकता सन्देशसभा तथा साक्षात्कार कार्यक्रम’मा बोल्दै प्रचण्डले संविधान मिचेर लोकतन्त्रको मर्मविपरीत गरिएका कामको परिणाम घातक हुने चेतावनी दिए। उनले अहिले देशले त्यही परिणाम भोगिरहेको दाबी गरे।
प्रचण्डका अनुसार भदौ २३ र २४ गते भएका लुटपाट, आगजनी र विध्वंश असली जेनजी आन्दोलनका कारण नभई ठूलो घुसपैठ र योजनाबद्ध डिजाइनका साथ गरिएको थियो। उनले ती घटनाले नेपाली जनमानसमा राज्यविहीनताजस्तो अवस्था सिर्जना गर्दै ठूलो सन्त्रास फैलाएको बताए।
आइतबार दिल्ली प्रस्थान गरेका प्रचण्ड सोमबार स्वदेश फर्कने कार्यक्रम रहे पनि प्राविधिक कारणले फर्कन नसकी मंगलबार फर्किने उनको सचिवालयले जनाएको छ।

