काठमाडौँ । तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ हुनेछ। यो मुद्दा चार वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।
एमालेले आफ्ना सांसदसहितबाट बनेको नयाँ दलको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दायर गरेको हो। एकीकृत समाजवादीका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै ओलीले २०७८ भदौ १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमा एमाले विभाजनका लागि तत्कालीन समयमा जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश, तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा तथा लुम्बिनी प्रदेश सभामुखलाई समेत विपक्षी बनाइएको छ।
सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले मात्रै पार्टी विभाजन गरी नयाँ दल दर्ता गर्न सक्ने व्यवस्था गरेपछि माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएको थियो।

