काठमाडौं । सन् २०२५ मा नेपालबाट वैदेशिक यात्रा गर्ने नेपालीहरूको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ। वैदेशिक रोजगार विभागका अनुसार गत एक वर्षमा १५ लाख २३ हजार नेपालीहरू अध्ययन, श्रम, पर्यटन तथा व्यवसायका सिलसिलामा विदेशिएका छन्।
यही अवधिमा विदेशबाट स्वदेश फर्कने नेपालीहरूको संख्या १३ लाख १३ हजार १९१ रहेको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभएको छ। कोरोना महामारीपछि सुस्ताएको वैदेशिक आवागमन अहिले पुनः तीव्र गतिमा बढिरहेको तथ्यांकले देखाउँछ।
यसैगरी, पर्यटन क्षेत्रमा पनि सुधार देखिएको छ। सोही वर्ष १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् भने ९ लाख ८२ हजार ५६१ जना विदेशीहरू नेपालको भ्रमण सकेर फर्किएका छन्।
