काठमाडौं । ‘हामी नेपाल’ का संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएको दाबी गर्नुभएको छ। सोमबार साँझ सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उहाँले लामो समयको प्रयास र रस्साकस्सीपछि यी तीन प्रभावशाली व्यक्तित्वहरूलाई एकै ठाउँमा ल्याउन सफल भएको उल्लेख गर्नुभएको हो।
गुरुङले सामाजिक सञ्जालमा आफूसँगै रवि लामिछाने र कुलमान घिसिङ रहेको तस्बिर सार्वजनिक गर्दै अबको निर्वाचनमा यी तीनै जना मिलेर अघि बढ्ने सुनिश्चित भएको बताउनुभएको छ। उहाँले राष्ट्र र भविष्यका लागि यो एकता अपरिहार्य रहेको उल्लेख गर्दै इतिहासले यस पदक्षेपलाई सम्झिरहने विश्वास व्यक्त गर्नुभएको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सैद्धान्तिक सहमति भए तापनि कुलमान घिसिङसँगको पदीय बाँडफाँटका विषयमा केही अन्योल देखिएको थियो। पछिल्लो सहमति अनुसार घिसिङ रास्वपाको उपसभापति बन्ने गरी कुरा मिलेको बताइएको छ। यो सहमतिसँगै आगामी निर्वाचनको राजनीतिक समीकरणमा नयाँ तरङ्ग पैदा हुने देखिएको छ।
