काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचन नै एकमात्र विकल्प भएको बताउनुभएको छ। आज बानेश्वर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूर्वनिर्धारित मितिमा निर्वाचन गराउनुको विकल्प नरहेको र अन्य बाटो खोजिए देश थप दुर्घटनामा पर्न सक्ने चेतावनी दिनुभयो।
निर्वाचनले देशलाई स्थिरता र विकासको नयाँ दिशामा लैजाने विश्वास व्यक्त गर्दै उहाँले अहिले सबै राजनीतिक दलहरू चुनावमा सहभागी हुने वातावरण बनेको उल्लेख गर्नुभयो। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी भइरहेकोमा उहाँले प्रसन्नता समेत प्रकट गर्नुभयो।
संयोजक दाहालले शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता मौलिक हकहरू राज्यको पूर्ण दायित्वभित्र पर्नुपर्ने र अन्ततः यी सेवाहरू निःशुल्क हुनुपर्ने आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको बताउनुभयो। आगामी दिनमा यी विषयहरूलाई कार्यान्वयन गर्न आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने प्रतिबद्धता समेत उहाँले सो अवसरमा व्यक्त गर्नुभयो।
