वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता तोकेको छ। अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी अस्थायी मतदाता हुनेछन्।
यस्तै, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारका थुनुवा–कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, सरकारी/स्वीकृत वृद्धाश्रमका बासिन्दा तथा संवैधानिक निकायका पदाधिकारी पनि अस्थायी मतदातामा समेटिनेछन्।
अस्थायी मतदाता नामावली समन्वय समिति निर्वाचन आयुक्तको संयोजकत्वमा गठन हुनेछ। जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकाय र कारागार प्रमुख सदस्य रहनेछन्। सम्बन्धित निकायले कर्मचारी विवरण विद्युतीय प्रतिसहित निर्वाचन कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
