काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा व्यापक सुधारका लागि गठित कार्यदलको प्रतिवेदन मंगलबार सार्वजनिक गरेको छ। रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले बैंकिङ नीतिलाई उदार र विवेकशील बनाउनुपर्ने तथा हालको निर्देशित कर्जा र चालु पुँजी कर्जा मार्गदर्शनमा परिमार्जन गर्न सुझाव दिएको छ।
प्रतिवेदनले कार्यसम्पादनका आधारमा बैंकहरूको वर्गीकरण गरी नियमन गर्नुपर्ने र कृषि तथा ऊर्जा जस्ता क्षेत्रमा प्रवाह हुने निर्देशित कर्जाको प्रभावकारिता पुनरावलोकन गर्नुपर्नेमा जोड दिएको छ।
यस्तै, ठूला ऋणीहरूले ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने र नेपाललाई ‘ग्रे लिस्ट’ बाट हटाउन सम्पत्ति शुद्धीकरण निवारणमा सशक्त भूमिका खेल्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ। ‘स्वस्थ नियमन र ग्राहकमैत्री बैंकिङ’ लाई प्राथमिकता दिँदै कार्यदलले अल्पकालीनदेखि दीर्घकालीन सुधारका खाकाहरू प्रस्तुत गरेको छ।
