नयाँ दिल्ली । क्षेत्रीय सुरक्षा र सीमापार समन्वयलाई थप मजबुत बनाउने उद्देश्यका साथ नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) का १९ सदस्यीय प्रतिनिधिमण्डलले भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) को मुख्यालय भ्रमण गरेको छ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) शम्भु सुवेदीको नेतृत्वमा प्रशिक्षार्थी सशस्त्र प्रहरी अधिकारीहरू सम्मिलित उक्त टोलीलाई नयाँ दिल्लीस्थित सीआईएसएफ मुख्यालयमा भव्य स्वागत गरिएको थियो।
यो ११ दिने विशेष अध्ययन भ्रमणले दुई देशका सुरक्षा निकायहरूबीच उत्कृष्ट कार्यप्रणाली र सुरक्षा ढाँचाहरू आदानप्रदान गर्ने उद्देश्य लिईएको छ ।
नेपाल र भारतबीचको दीर्घकालीन सुरक्षा सम्बन्धलाई थप सुदृढ पार्दै यस भ्रमणले दुवै देशका सुरक्षाकर्मीको क्षमता अभिवृद्धि र क्षेत्रीय सहयोगप्रतिको साझा प्रतिबद्धताको आधार तयार गरेको छ।
भ्रमणका क्रममा सशस्त्र प्रहरी बलको टोलीले भारतका विभिन्न महत्वपूर्ण प्रतिष्ठानहरूको सुरक्षा व्यवस्था र आधुनिक सुरक्षा प्रविधिबारे जानकारी लिने जनाईएको छ।
यस सहकार्यले छिमेकी राष्ट्रहरूबीच आपसी विश्वास बढाउनुका साथै भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीहरूलाई संयुक्त रूपमा सामना गर्न मद्दत पुग्ने विश्वास लिइएको छ। यो पहलले दक्षिण एसियाली क्षेत्रको समग्र सुरक्षा र स्थिरतामा समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ।
