वीरगन्ज । वीरगन्जको उत्कृष्ट शैक्षिक संस्था वीरगन्ज कलेजले कक्षा ११ मा अध्ययन गरेका विद्यार्थीहरुको भविष्य निर्माणका लागि एक दिने ‘उत्कृष्टताको बाटो’ विषयक तालिमको आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पर्सा जिल्ला अदालतका न्यायधीश उपेन्द्र केशरी खनालले विद्यार्थीहरुलाई जीवनलाई निरन्तर संघर्षमा डो-याउनुपर्ने बताए ।
जसले बढी मेहेनत गर्छ उसले नै उच्च प्रतिफल पाउने बताउदै विद्यार्थीहरुलाई पनि अहिले भविष्य निर्माणका लागि कडा परिश्रम गर्न सुझाव दिए । भविष्य उज्जवल बनाउनका लागि विद्यार्थीहरुले पनि आफूले आफैलाई पहिचान गर्नुपर्ने जोड दिए ।
विशिष्ट अतिथि वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले विद्यार्थीहरुलाई अध्ययनसँगसँगै सीप विकासमा पनि आफूलाई निपूर्ण बनाउन सुझाब दिए । अहिले पाठ्यपुस्तक र पाठ्यक्रमको अध्ययनमा मात्रै सीमित नराखी उद्यमशिलताको गतिविधिमा पनि चासो देखाउन आग्रह गरे ।
अर्का अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले छोटो समयमा नै वीरगन्जमा शैक्षिक क्रान्ति ल्याउन सफल भएकोमा प्रशंसा गरे ।
उनले वीरगन्ज कलेज विद्यार्थीहरुको रोजाईमा परेको बताउदै कलेजमा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ सम्म लगनीशल र मेहेनती भई अध्ययन गरी स्नातक अध्ययनमा आफूलाई अब्बल बनाउन सुझाब दिदै त्यसपछि आफ्नो भविष्य निर्माणका लागि आफै स्वरोजगार हुनेबाटो रोज्न सुझाब दिए ।
अहिलेको समयमा आफूले जागिर खाने भन्दापनि अरुलाई जागिर लगाउने सोचका साथ अगाडि बढ्न र देशमा उद्यमशीलताको विकास गर्न विद्यार्थीहरुले अहिलेदेखि नै ‘पढ्दै कमाउदै’ अवधारणालाई आत्मसात गत अनुरोध गरे ।
वीरगन्ज कलेज सञ्चालक समितिका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एशोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मी, कलेजका राजेश्वर प्रसाद चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कलेजका अध्यक्ष डा.चौधरी र क्याम्पस प्रमुख विनोद गुप्ताले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । कलेज सञ्चालक समिति सदस्य तथा प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीले स्वागत गरेको कार्यक्रममा कलेजका फ्याकल्टी मेम्बरहरु, विभिन्न सञ्चारसंस्थासँग आबद्ध सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

