नयाँ दिल्ली । नेपाल र भारतले आयुर्वेदलाई साझा विरासतका रूपमा आत्मसात् गर्दै यस क्षेत्रको प्रवर्द्धन र वैज्ञानिक अनुसन्धानमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भारतको राजधानी नयाँ दिल्लीमा नेपालका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतम र भारत सरकारको आयुष एवं स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री प्रतापराव जाधवबीच भएको भेटवार्तामा यस्तो सहमति बनेको हो।
भेटका क्रममा दुवै मन्त्रीहरूले हिमाली जडीबुटी, पूर्वीय दर्शन र परम्परागत ज्ञानलाई विश्वव्यापी स्वास्थ्य सुधारको माध्यम बनाउन मिलेर अघि बढ्ने बताए ।
मन्त्री डा. गौतमले नेपालको स्वास्थ्य प्रणालीमा आयुर्वेद र वैकल्पिक चिकित्साको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै भारत सरकारले उपलब्ध गराउँदै आएको १५० भन्दा बढी ‘आयुष’ छात्रवृत्तिले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाएको बताईन् ।
त्यसैगरी, भारतीय राज्यमन्त्री जाधवसँगको छलफलमा आगामी दिनमा आयुर्वेद क्षेत्रलाई वैज्ञानिक अनुसन्धानमार्फत थप सशक्त र आधुनिक बनाउने विषयमा समेत गहन संवाद भएको छ।
दुवै पक्षले परम्परागत उपचार पद्धतिलाई समयानुकूल परिमार्जन गर्दै साझा स्वास्थ्य चुनौतीहरू समाधान गर्न प्राविधिक र शैक्षिक स्तरमा सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुवै देशका स्वास्थ्य मन्त्रीको भेटवार्ताले नेपाल र भारतबीचको परापूर्वकालदेखिको सांस्कृतिक एवं चिकित्सा क्षेत्रको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।

