पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सखुवा प्रसौनी गाउँपालिका स्तरको प्रथम भेला सम्पन्न भएको छ। स्थानीय स्तरमा संगठन विस्तार गर्ने उद्देश्यका साथ आयोजित यस भेलाले शम्भु प्रसाद यादवको सभापतित्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
गठित समितिको उपसभापतिमा सञ्चिता बुढाथोकी, सचिवमा अफजल हुसैन, कोषाध्यक्षमा प्रभु प्रसाद महतो र सहसचिवमा जनक राज कँडेल चुनिएका छन्। त्यसैगरी सदस्यहरूमा विरा महतो, अशेशोर साह तेली, निरञ्जन राउत र भोला राउत कुर्मी रहेका छन्।
भेलालाई सम्बोधन गर्दै रास्वपा पर्साका जिल्ला सभापति हरी पन्तले पुराना राजनीतिक दलहरूको विकल्पका रूपमा रास्वपा उदय भएको दाबी गरे। उनले भदौ २३ र २४ गतेको जेन–जी विद्रोहले नेपाली राजनीतिमा कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरूको सान्दर्भिकता सकिएको सन्देश दिएको तर्क गरे।
सभापति पन्तले वर्तमान अवस्थामा रास्वपाको आवश्यकता झन् बढेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई भारी मतका साथ जिताउन कार्यकर्ताहरूलाई आग्रह समेत गरे।
कार्यक्रममा रास्वपाका नेताहरू तुलसा पौडेल, अमन आलम, सबु कँडेल, महेन्द्र दास र सोनालाल पटेल लगायतले पार्टीको नीति र आगामी कार्ययोजनाबारे मन्तव्य राखेका थिए। रास्वपा क्षेत्रीय सभापति मनोज कुर्मीको सभापतित्वमा सम्पन्न उक्त भेलाको सहजीकरण कृष्णा पासवानले गरेका थिए।
