जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सातदलीय गठबन्धनको बैठकले सरकार विस्तार गर्ने सहमति गरेपश्चात् सोमबार दुई जना नयाँ मन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट रानी कुमारी तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्री र तत्कालिन नेकपा (माओवादी केन्द्र) हालको नेपाली कम्युनिष्ट पार्टीबाट सर्लाहीका जवाहरलाल कुश्वाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीको जिम्मेवारी दिईएको छ ।
गत मङ्सिर २१ गते बिनाविभागीय मन्त्री नियुक्त भई शपथ लिएका मन्त्रीहरूलाई पनि जिम्मेवारी तोकिएको छ । जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र महेशप्रसाद यादवलाई यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
मन्त्रिपरिषद् विस्तारसँगै अब मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ । वर्तमान सरकारमा नेपाली कांग्रेसका मुख्यमन्त्रीसहित एक मन्त्री, नेकपा एस, जनमत पार्टी, लोसपा र माओवादी केन्द्रका तर्फबाट १–१ जनाको सहभागिता रहेको छ । सत्ता गठबन्धनमा रहेको जसपा भने अहिलेसम्म सरकारमा सहभागी भएको छैन ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव गत मङ्सिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री यादवले आगामी पुस ४ गते विश्वासको मत लिने कार्यक्रम रहेको छ ।
