वीरगञ्ज । करिब १९ वर्षअघि भएको कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। २०६३ सालमा एक व्यक्तिको कुटपिट तथा कर्तव्य गरी हत्या गरेको अभियोग लागेका अभियुक्तलाई प्रहरीले वीरगञ्ज महानगरपालिकाबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, मिति २०६३ साल असोज ५ गते बिहान पौने ११ बजेतिर पर्साको लिपनी विर्ता गाउँ विकास समितिको वडा नं. ८, सिर्सिया नदीको डिलमा २३ वर्षीय सुरेश भनिने राम प्रसाद पटेलको हत्या भएको थियो।
सो हत्यामा संलग्न रहेर वारदातपछि फरार भएका ५४ वर्षीय बिनोद पटेल भन्ने बिनोद प्रसाद कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो। कुर्मीको घर बहुदरमाई नगरपालिका वडा नं. २ भए पनि उनी परवानीपुर स्थित एक कम्पनीमा काम गर्ने गरेको खुलेको छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले फरार अभियुक्त कुर्मीलाई बुधबार दिउँसो पौने २ बजे वीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका कुर्मीमाथि ज्यान सम्बन्धी (कर्तव्य ज्यान) कसूरमा थप अनुसन्धान गर्नका लागि सम्मानित पर्सा जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
