श्रीलङ्का। श्रीलङ्कामा ‘चक्रवात दिटवाह’को कारणले आएको भीषण वर्षा, बाढी र पहिरोमा परी हालसम्म १२३ जनाको ज्यान गएको छ भने १३० जना अझै बेपत्ता रहेका छन्। यो प्रकोप हालैका वर्षहरूमा देशले भोगेको सबैभन्दा गम्भीर मौसमी विपत्तिमध्ये एक हो।
श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका महानिर्देशक सम्पत कोटुवेगोदाका अनुसार राहत कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। घर क्षतिग्रस्त भएका ४३ हजार ९९५ जनालाई राज्यद्वारा सञ्चालित राहत केन्द्रमा सारिएको छ।
भारी वर्षा सोमबारदेखि सुरु भएको थियो भने चक्रवात ‘दिटवाह’ बुधबार मुख्य क्षेत्रमा प्रवेश गरेपछि अवस्था झन् गम्भीर बनेको थियो।
शुक्रबार साँझ राजधानी कोलम्बो हुँदै बग्ने केलानी नदीको तटबन्ध भत्किएपछि तटीय क्षेत्रमा बस्ने सयौँ मानिसलाई अस्थायी शिविरमा सार्नु परेको थियो।
देशको अधिकांश भागमा वर्षा कम भए पनि चक्रवातको अवशेषका कारण उत्तरी क्षेत्रका केही भागमा अझै पानी परिरहेको छ।
सरकारले उद्धार र राहत कार्यलाई सुदृढ बनाउन सैनिक बल परिचालन गरेको छ। फसेका बासिन्दाहरूको उद्धारका लागि हेलिकोप्टर र डुङ्गाको प्रयोग भइरहेको छ।
विपद् व्यवस्थापन केन्द्रका अधिकारीहरूले बाढीको यो स्तर सन् २०१६ को भन्दा बढी हुने अनुमान गरेका छन्, जब ७१ जनाको मृत्यु भएको थियो। सन् २००३ को जुनमा आएको बाढीपछि यो सबैभन्दा ठूलो मानवीय क्षति हो, जसमा २५४ जनाको मृत्यु भएको थियो।
यसैबीच भारतले पीडितहरूका लागि आवश्यक राहत सामग्री बोकेको विमान शनिबार बिहानै श्रीलङ्का पठाइसकेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुःखद घटनामा समवेदना व्यक्त गर्दै आवश्यक परे थप सहयोगका लागि नयाँ दिल्ली तयार रहेको जानकारी दिएको छ ।
