वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८४ को समानुपातिक बन्दसूचीका लागि पर्साबाट उम्मेदवार छनोटको मापदण्ड सार्वजनिक गरेको छ।
पार्टीले उम्मेदवार चयन प्रक्रियालाई पूर्ण पारदर्शी, वैज्ञानिक र समावेशी बनाउने उद्देश्यसहित केन्द्रीय समितिबाट पारित “उम्मेदवार छनोट रूपरेखा- २०८४” अनुसार मापदण्डहरू निर्धारण गरिएको रास्वपा पर्साका सभापति हरि पन्तले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्।
पार्टीले आफूलाई वैयक्तिक स्वतन्त्रता, विधिको शासन, र समावेशी समाज निर्माणमा प्रतिबद्ध बहुलबादी लोकतान्त्रिक पार्टीका रूपमा प्रस्तुत गरेको छ। रास्वपा सामाजिक न्यायसहितको उदार बजार अर्थतन्त्र, उद्यमशीलता र दिगो विकासमार्फत रोजगारी तथा समृद्धि बढाउनका साथै संवैधानिक बाटोबाट समाजवाद उन्मुख लक्ष्य हासिल गर्ने र सबै प्रकारका विभेदको अन्त्य गर्दै अवसरको समान वितरणमा जोड दिने लक्ष्य राखेको छ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, र सांस्कृतिक विविधतायुक्त राष्ट्रिय एकतालाई सर्वोपरि मानेर सुशासन, दिगो शान्ति र जनताले प्रत्यक्ष महसुस गर्ने समृद्धि ल्याउनु रास्वपाको मुख्य संकल्प रहेको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले उम्मेदवारहरूका लागि केही आधारभूत योग्यता (अनिवार्य सर्तहरू) तोकेको छ। अनिवार्य सर्तहरूमा (१) नेपाली नागरिक भएको, (२) २५ वर्ष उमेर पूरा भएको, (३) अन्य राजनीतिक दल त्याग गरेको, (४) मतदाता नामावलीमा नाम दर्ता भएको, (५) सार्वजनिक पदको दुरुपयोग नगरेको, (६) नेपालको कानुन बमोजिम अयोग्य नठहरिने प्रहरी रिपोर्ट पेश गरेको र प्रचलित कानून बमोजिम कालोसूचीमा नपरेको, (७) परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्ने नियमित र पारदर्शी आम्दानी स्रोत भएको, (८) पार्टीको केन्द्रीय समितिलाई सम्पत्ति विवरण बुझाएको र (९) पार्टीको अनुशासन समितिले अयोग्य ठहर नगरेको हुनुपर्नेछ।
यसैगरी, उम्मेदवार छनोटका लागि पाँच मुख्य मापदण्डहरू निर्धारण गरिएको छ। यसमा उम्मेदवार क्लब, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशीता, र प्रारम्भिक निर्वाचन रहेका छन्। यी मापदण्डहरू स्पष्ट, मापनयोग्य र कारक मूल्याङ्कन विधिमा आधारित हुने बताइएको छ, जसले पार्टीको जिम्मेवार, निष्पक्ष र नयाँ ऊर्जा बोकेको छनोट प्रक्रियालाई मजबुत बनाउने विश्वास लिइएको छ।
पार्टीको उक्त निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला सभापति हरि पन्तले मिति २०८२-०८-१२ मा जारी गरेको प्रेस विज्ञप्ति मार्फत सार्वजनिक भएको हो। इच्छुक सदस्यहरूले मिति २०८२-०८-२५ गतेसम्म अनलाइन वा अफलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्। थप जानकारीका लागि पार्टीको आधिकारिक वेबसाइट www.rspnepal.org वा जिल्ला कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
जिल्ला सभापति हरि पन्तकाे अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य डा.नन्दन यादव, प्रदेशका पदाधिकारी, जिल्ला पदाधिकारी तथा सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

