जनकपुर । मधेस प्रदेशसभाका दुई सांसदमाथि नेकपा माओवादी केन्द्र संसदीय दलले कारबाही प्रक्रिया अघि बढाएको छ। तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनललाई विश्वासको मत दिने क्रममा पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा सांसद रहबर अन्सारी र मालाकुमारी कर्णमाथि कारबाही प्रक्रिया सुरु गरिएको हो।
पार्टीका संसदीय दलका नेता भरत साहका अनुसार विश्वासको मतका दिन दुवैले सभामा ह्विप विपरीत उभिएर मत नदिने घोषणा गरेका थिए। “पार्टीको निर्णयविपरीत आचरण भएकाले संगठनात्मक कारबाहीको प्रक्रिया अघि बढाइएको छ,” नेता साहले भने।
यी दुई सांसदकै कारण लोसपा नेता सोनलको नेतृत्वमा बनेको पाँचदलीय गठबन्धन सरकार ढलेको थियो। सोनलले त्यसै दिन प्रदेशसभामै राजीनामा दिएका थिए।
साहका अनुसार, पार्टीको ह्विप उल्लङ्घन र सभामा वितण्डा मच्चाउने कार्य गैरसंवैधानिक तथा अनुशासनविपरीत भएकाले केन्द्रीय समितिले दुवैलाई साधारण सदस्यता समेत खोस्ने निर्णय गरिसकेको छ। “केन्द्रबाट आधिकारिक पत्र आएलगत्तै प्रदेशसभामा उनीहरूको पद खारेजका लागि सिफारिस गरिनेछ,” उनले बताए।
