काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले सञ्चालन गरेको घर फर्क अभियान माथि तीखो व्यङ्ग्य गरेका छन्।
बुधबार राष्ट्रिय सभा गृहमा आयोजित “एकता समायोजन कार्यक्रम” लाई सम्बोधन गर्दै उनले एमालेको घर फर्क अभियानका क्रममा रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरू फर्किएको प्रसंग जोड्दै भने —
‘अस्ति यही ठाउँमा घर फर्क कार्यक्रम राखिएको थियो। वास्तवमा डढेको र भत्किएको घरमा के फर्किनु? त्यो दम्भ र अहङ्कारले ध्वस्त भएको घरमा फर्किने उस्तैउस्तै फर्किए होलान् जस्तो लाग्छ।’
कार्यक्रममा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति पनि प्रतिवाद गरे। ओलीले नेपाली कम्युनिस्ट पार्टी वृद्धाश्रम बनेको टिप्पणी गरेका थिए।
‘केपी ओलीजीले यहाँ रहेका नेताहरूलाइ वृद्धाश्रम भन्नुभयो,’ प्रचण्डले भने, ‘आफ्ना अभिभावकप्रति यस्तो अपमान के हुन्छ? भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण रूपमा उठेका जेनजी युवामाथि दमन गर्नेहरूले आज हामीलाई वृद्धाश्रम भन्छन्।’
उनले जेनजी आन्दोलनका क्रममा सुशासन र पारदर्शिताको पक्षमा उभिएका युवाहरूलाई सबैभन्दा पहिले समर्थन गर्ने पनि आफूहरू नै रहेको जिकिर गरे।
