काठमाडौं । अबदेखि नागरिकहरूले आफ्नो नाम, जन्ममिति, विवाह दर्ता लगायतका व्यक्तिगत घटनाका विवरणहरू एक पटकका लागि सच्याउन पाउने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गरेसँगै यो व्यवस्था लागू हुने बाटो खुलेको हो।
यसअघि सरकारले व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने गरी ऐन बनाए पनि, त्यसको कार्यान्वयनलाई सहज बनाउन र थप प्रष्टता दिनका लागि नियमावली संशोधन गरिएको हो।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक सानुबाबु अधिकारीका अनुसार, संशोधित नियमावलीले ऐनमा भएको ‘एकपटक संशोधन गर्न पाउने’ व्यवस्थालाई कसरी कार्यान्वयन गर्ने भन्ने व्याख्या गरेको छ।
नियमावली संसोधन सँगै अब जसजसको नाम, ठेगाना, जन्मदर्ता, विवाह, मृत्यु, विवाह दर्ता, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता भएका विवरण बिग्रिएको छ, उहाँहरूले एकपटकलाई संशोधन गर्न पाईने भएको छ ।
मन्त्रिपरिषदबाट नियमावली संशोधन भइसकेकाले अब राजपत्रमा प्रकाशित भएपछि यसको कार्यान्वयन सुरु हुनेछ।
यो संशोधनले विशेषगरी नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक(फरक विवरण भएका व्यक्तिहरूलाई राहत दिने भएको छ। व्यक्तिगत घटना विवरण दर्ता गर्ने वा सच्याउने सम्पूर्ण कार्य वडा कार्यालय मार्फत हुनेछ।
