वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले कारोबार गर्नुअघि शतर्क रहन अनुरोध गरेको छ । पछिल्ला केही दिनयता सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरूको नक्कली बिल बिजक बनाएर ठूलो मात्रामा सामान खरिद गरी ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएपछि जिल्ला प्रहरी कार्यालय पर्साले सबैलाई सचेत गराएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै व्यापारिक कारोवारमा संलग्न सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो। पर्सा प्रहरीको सूचना संकलन तथा विश्लेषण शाखाको विश्लेषणपछि पर्सा प्रहरीले यस्तो सूचना जारी गरेर अनुरोध गरेको हो ।
प्रहरीका अनुसार, ठगी गर्ने समूहले सिमेन्ट, छड, मदिरा, मोटर पार्टस लगायतका ठूलो मात्रामा सामान खरिद गर्दा नाम चलेका कम्पनीहरूको जाली बिल विजक प्रयोग गर्ने गरेका छन्। प्रहरीले व्यापारीहरूलाई यस्ता कारोवार गर्दा पहिले राम्ररी यकीन गरेर मात्र अगाडि बढ्न आग्रह गरेको छ।
प्रहरीले कुनै पनि आधिकारिकता विनाको सामान खरिद नगर्न समेत चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘आधिकारिकत्ता विनाको कुनै सामानहरू खरिद नगर्न हुन अनुरोध गरिन्छ, अन्यथा प्रचलित कानुन बमोजिम कार्बाही हुने व्यहोरा समेत अनुरोध गरिन्छ।’
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत द्वारा जारी गरिएको यस विज्ञप्तिमा उल्लेखित घटनाहरूलाई मध्यनजर गर्दै, प्रहरीले कुनै पनि शङ्कास्पद गतिविधिको सूचना तत्काल कन्ट्रोल १०० वा मोबाइल नम्बर ९८५५०९०१३६ मा दिन आग्रह गरेको छ।
