काठमाडौँ। नेपाल ट्रस्टको दरबारमार्गस्थित बहुमूल्य जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई सस्तोमा लिजमा दिएको गम्भीर अनियमितताको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान तीव्र पारेको छ।
जग्गा लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई सीआईबीले पक्राउ गरी ठगी र आपराधिक विश्वासघात को कसुरमा अनुसन्धान अघि बढाएको छ। चितवनबाट पक्राउ परेका अवकाशप्राप्त सहसचिव कार्कीमाथि म्याद थप गरी विस्तृत जाँच भइरहेको छ।
सीआईबीका अनुसार, विभिन्न ओहदामा रहेका व्यक्ति र सरकारी कर्मचारीको मिलेमतोमा थामसेर्कुलाई गैरकानूनी लाभ पुर्याई नेपाल ट्रस्टलाई ठूलो आर्थिक हानि–नोक्सानी पुर्याइएको प्रमाण भेटिएको छ।
नारायणहिटी दरबार अगाडिको १ रोपनी १४ आना जग्गा लिजमा दिँदा बोलपत्र प्रक्रियामा नै थामसेर्कुलाई अनुकूल हुने गरी मापदण्ड बनाएको देखिएको छ। थामसेर्कुले सुरुमा ६ अर्ब २६ करोड रुपैयाँको प्रस्ताव बुझाएकोमा पछि रहस्यमय रूपमा घटाएर पेस गरेको १ अर्ब ४० करोड रुपैयाँ को प्रस्ताव स्वीकृत गरिएको थियो। यसमा सम्झौतापत्रमा समेत केरमेट गरिएको पाइएको छ।
अनुसन्धान अधिकृतहरूले यस प्रकरणमा ट्रस्टका तत्कालीन संरक्षक (प्रधानमन्त्री) र अध्यक्ष (गृहमन्त्री) लगायत उच्च तहका राजनीतिक नेतृत्व को समेत संलग्नता हुन सक्ने शङ्का व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको निकाय भएकाले माथिल्लो तहको जानकारीबिना सम्झौता हुन नसक्ने प्रहरीको दाबी छ।
पहिलेको उजुरी तामेलीमास् यो प्रकरणमा पहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो, तर २०७६ सालमै तामेलीमा राख्ने निर्णय भएको थियो। महालेखापरीक्षकको कार्यालयले भने यसमा छानबिन गर्न सुझाव दिएको थियो।
सीआईबीका प्रमुख एआईजी मनोज केसीका अनुसार, अनुसन्धानमा मिलेमतोका प्रशस्त प्रमाणहरू भेटिएका छन् र यसलाई माथिसम्म पुर्याउने प्रहरीको योजना छ।
नेपाल ट्रस्टको सम्पत्ति लिजसम्बन्धी विवादको यो पहिलो घटना होइन। ट्रस्टको स्वामित्वमा रहेको गोकर्ण फरेस्ट रिसोर्ट को जग्गा पनि अवधि बाँकी रहँदै यति होल्डिङ्स लाई २५ वर्ष लिज अवधि थप्ने निर्णय गर्दा तत्कालीन सरकार विवादमा तानिएको थियो।
यस प्रकरणमा सीआईबीले लिज सम्झौतामा संलग्न अन्य कर्मचारी तथा व्यक्तिहरूमाथि पनि चाँडै कारबाही अघि बढाउने जनाएको छ।
