रञ्जित पाण्डेय
कलैया, २८ असोज । बारामा मंगलबारदेखि शुरु भएको हैजा विरुद्धको खोप अभियानमा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक सहित कर्मचारीहरुले पनि खोप लिएका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक संतोष तामाङले मंगलबार जिल्ला प्रशासन कार्यालय बारामा खोप लिएका छन् ।
प्रजिअ पौडेल र एसपी तामाङलाई कलैया उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालयमै खोप दिएका हुन् । वीरगन्ज महानगरपालिकामा भदौ ६ गते देखा परेको हैजाको प्रकोप विस्तारै अन्य स्थानीय तहहरुमा समेत फैलिन थालेपछि यसको नियन्त्रणका लागि खोप अभियान शुरु गरेको हो ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय बाराले वीरगन्ज महानगरपालिकासँग जोडिएका बाराका ६ वटा स्थानीय तहमा हैजा विरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।
सोही अनुसार वीरगन्जको नजिकै रहेको कलैया उपमहानगरपालिकामा पनि अभियान शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक तामाङ सहित कार्यालयका कर्मचारी र सेवा लिन आएका सेवाग्राहीले समेत खोप लिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाराका अनुसार मंगलबार बारामा २१५ जनाले खोप सेवन गरेका छन् । १४६ जना पुरुष र ७१ जना महिला सहित २१५ जनाले मंगलबार हैजा विरुद्धको खोप लिएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

