वीरगञ्ज। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा र राम कुमार महावीर प्रसाद केडिया आँखा हस्पिटल, वीरगञ्ज पर्साको संयुक्त आयोजनामा विश्व दृष्टि दिवसको अवसरमा प्रहरी कर्मचारीहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित जिल्ला प्रहरी कार्यालय पर्साको सभा हलमा आयोजित शिविरमा कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत १८५ जना प्रहरी कर्मचारीहरूको आँखा परीक्षण गरिएको थियो।
राम कुमार महावीर प्रसाद केडिया आँखा हस्पिटल वीरगञ्ज पर्साका नेत्र अधिकृत कौशल कुमार कर्ण, नेत्र सहायक अधिकृत सन्तोष ठाकुर, नेत्र सहायक अधिकृत आशा साह र अस्पताल व्यवस्थापन प्रकाश कुमार वर्माको टोलीले प्रहरी कर्मचारीहरूको आँखा परीक्षण गरेको थियो।
परीक्षणका क्रममा १०२ जनालाई चश्मा र ११३ जनालाई औषधी निःशुल्क वितरण गरिएको छ। यसैगरी, परीक्षण गरिएका मध्ये १ जनामा मोतियाबिन्दु र १ जनामा हाई पावर को समस्या देखिएको थियो।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, प्रहरी नायव उपरीक्षक किशोर लम्साल लगायत १८५ जना प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।