वीरगन्ज । जेनजी पुस्ताको आन्दोलनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ । आन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण तथा स्वागतका लागि आयोजना गरिएको परिचयात्मक कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले प्रदर्शनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको जानकारी गराए ।
उनका अनुसार जेनजी आन्दोलनमा ५९ प्रदर्शनकारी, १० कैदीबन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । त्यस्तै १३४ प्रदर्शनकारी र ५७ जना प्रहरीको विभिन्न अस्पतालहरुमा उपचार हुदैछ ।
नवनियुक्त प्रधामन्त्री सुशीला कार्कीको एकल मन्त्रीपरिषदको कार्यालयले मृतकका परिवारलाई १० लाख घोषणा गरिसकेको पनि मुख्यसचिव अर्यालले जानकारी दिए ।
उनले प्रदर्शनका क्रममा देशभरीका सरकारी कार्यालय, सुरक्षा निकायका भवनहरु र निजी घर तथा प्रतिष्ठानहरु समेत ध्वस्त भएकोले त्यसको पुर्ननिर्माण गर्नुपर्ने र यसको बजेट विनियोजन पनि गर्नुपर्ने भएकोले चुनौतीपूर्ण रहेको बताए ।
उनले युवा पुस्ताको माग सम्बोधन हुनेगरी काम गर्न निजामती कर्मचारीहरुको तर्फबाट प्रतिबद्धता व्यक्त समेत गरे ।
