जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले धनुषा र महोत्तरीमा जैन तीर्थस्थलको विकासका लागि पहल शुरु गरेका छन् । आईतबार स्थलगत अवलोकन भ्रमण गरेर मुख्यमन्त्री सिंहले जैन धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण मानिने १९औँ तीर्थंकर भगवान श्री मल्लिनाथ र २१औँ तीर्थंकर भगवान श्री नमिनाथको जन्म, दीक्षा र ज्ञान प्राप्तिको स्थलहरूको संरक्षण र विकासका लागि पहल सुरु गरिएको बताएका हुन्।
प्राचीन मिथिलाको हिस्सा रहेका यी पवित्र स्थलहरू हाल धनुषाको शहिदनगर नगरपालिका–७ नेमुवा र महोत्तरीको जलेश्वर नगरपालिका–४ मलीवाडामा अवस्थित छन्।
यी ऐतिहासिक स्थलहरूको अवलोकनपश्चात् सम्बन्धित निकाय, समुदाय र सरोकारवालासँग सहकार्यका सम्भावनाबारे छलफल गरिएको छ। यसको मुख्य उद्देश्य धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय समृद्धि र धार्मिक सहिष्णुतालाई बढावा दिनु रहेको छ।
भगवान श्री मल्लिनाथ र भगवान श्री नमिनाथको जन्मस्थलीलाई व्यवस्थित र पर्यटकीय स्थलका रूपमा विकास गर्दा यस क्षेत्रको गौरव बढ्ने विश्वास गरिएको छ।
दुवै तीर्थस्थलमा जग्गा व्यवस्थापनको प्रक्रिया अगाडि बढेपछि जैन धर्मावलम्बीहरूले मन्दिर निर्माण र तीर्थस्थलको रूपान्तरणमा देखाएको उत्साह प्रशंसनीय रहेको बताइएको छ।
यी तीर्थस्थलको विकासले धार्मिक आस्थालाई मजबुत बनाउनुका साथै यस क्षेत्रको समग्र विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याउने पनि मुख्यमन्त्री सिंहको भनाई छ ।