वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको नेशनल इन्फोटेक (एनआई) कलेजमा कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुले निर्माण गरेका विभिन्न विज्ञान प्रविधिका सामग्रीहरुको प्रदर्शनी गरिएको छ ।
कलेज परिसरमा आयोजना गरिएको प्रदर्शनीको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उदघाटन गरेका छन् । प्रदर्शनीको उदघाटन गर्दै विद्यार्थीहरुको ज्ञान, सीप र क्षमता प्रशंसायोग्य रहेको बताए ।
उनले यसले सूचना प्रविधिको अहिलेको युग सापेक्ष सिकाई र प्रयोगबाट असम्भव कामहरु पनि सम्भव बनाउन सकिने बताए । विज्ञान संकायमा अध्ययन गरेका कक्षा १२ का विद्यार्थीहरुले रोबर्ट, हवाईजहाज, ड्रोन, सौर्यउर्जा, आधुनिक खेती प्रविधि लगायतका विभिन्न विज्ञान प्रविधिको प्रदर्शनी गरेका थिए ।
उनीहरुले खेतीमा आधुनिक प्रविधिको प्रयोग गरेर गर्न सकिने, वैकल्पिक उर्जाको रुपमा सौर्य उर्जालाई प्रयोग गर्न सकिने र विभिन्न ड्रोनको सहायताले कामहरु सहज रुपमा गर्न सकिने व्यावहारिक र प्राविधिक पक्षहरुको विषयमा प्रस्तुती दिएका थिए ।
प्रदर्शनीमा हवाईजहाज, ड्रोन, र रोबर्ट मुख्य आकर्षणको रुपमा रहेको थियो । त्यस्तै कृषि, हरित गृह, हावापानी, माटो लगायतको स्वचालित प्रविधिमार्फत परीक्षण गर्ने, वायुप्रदूषण मापन यन्त्र, सापेक्षित आद्रर्ता मापन लगायतका विज्ञान र प्रविधिसँग सम्बन्धी प्रदर्शनीले विद्यार्थीहरुको ध्यानाकृष्ट पारेको थियो ।
विद्यार्थीहरुले कलेजमा सिकेका विषयलाई व्यावहारिक रुपमा पनि सीप विकास गर्ने र उनीहरुको क्षमतालाई समेत अभिवृद्धि गर्न प्रदर्शनीले मद्दत पुग्ने कलेजका निर्देशक इञ्जिनिर मनिष सिंहले बताए ।
विज्ञान प्रदर्शनीले कलेजका विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुनुका साथै प्रोत्साहन र हौसला पनि प्राप्त गर्ने कलेजका इसीए डाईरेक्टर सुधीर पटेलले बताए । प्रदर्शनीमा वीरगन्ज र कलैयाका विभिन्न विद्यालयहरुका विद्यार्थी र शिक्षकहरुले पनि अवलोकन गरेका थिए ।
विज्ञान प्रदर्शनीमा आफ्नो प्रोजेक्टहरुका साथमा एनआई कलेजका विद्यार्थीहरु





