बारा । बाराको पचरौता सिमानाका हुँदै भारत प्रवेश गरेका एक भारतीय नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले १ किलो अफिमसहित नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत, बिहारको पूर्वी चम्पारणस्थित जित्ना गाउँका बिरजु चौधरी रहेको भारतीय एसएसबी ११ नम्बर बाहिनी, महुवाले जनाएको छ।
चौधरीलाई छौडादानो रक्सौल सडक खण्डअन्तर्गत भेलाहीबाट पक्राउ गरिएको हो। उनले बेनौली सिमानाकाबाट १ किलो अफिम लिएर भारत पुगेको बयान दिएको भारतीय एसएसबी महुवा थानाका इन्स्पेक्टर अमित गुञ्जनले जानकारी गराएका छन्।
यस घटनाले नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। गुलेरिया, बेनौली र बेलदारी लगायतका सिमानाकामा सशस्त्र प्रहरी बल दिनरात खटिए पनि लागुऔषध तस्करहरू सजिलै सीमा पार गर्न सफल भइरहेका छन्।
स्रोतका अनुसार, सीमामा तैनाथ सुरक्षाकर्मीहरूको सामुन्नेबाटै लागुऔषध, हातहतियारजस्ता अवैध सामानको तस्करी हुने गरेको छ। यसले गर्दा सुरक्षाकर्मीहरू तस्करीलाई संस्थागत गर्न मात्रै लागिपरेको आरोप लागेको छ। बाराको दक्षिणी सिमानाकास्थित गुलेरिया, झरोखर, सतुवाही, कवही गोठ, संतगंज, मटिरवा र बरैनिया लगायतका नाकाहरूबाट पनि लागुऔषधको ओसारपसार हुने गरेको बताइन्छ।