वीरगञ्ज । औद्योगिक उपकरण र पाटपूर्जाहरु अब अनलाईनको माध्यमबाट खरिद गर्न सकिने भएको छ । नेपालका तीन युवा उद्यमीहरुले नेपालको पहिलो औद्योगिक अनलाइन प्लेटफर्म ‘बाई नेपाल’ सञ्चालनमा ल्याएको छ ।
युवा उद्यमीहरु राजन कार्की, दीपेश मिश्र र चन्दन सिंह तीन जनाले औद्योगिक उपकरण, मेशिन र पाटपूर्जाहरुको उद्योगसम्मै सेवा दिनका लागि अनलाईन प्लेटफार्म सञ्चालनमा ल्याएका हुन् । वीरगञ्जमा यस अनलाईन प्लेटफर्मको औपचारिक शुभारम्भ भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, निवर्तमान अध्यक्ष अनिल अग्रवाल, बरिष्ठ उपाध्यक्ष माधव राजपाल लगायतले ‘बाईनेपाल’ अनलाईन प्लेटफर्मको संयुक्त रुपमा उदघाटन गरे ।
बाईनेपाल अनलाईन उद्योगका लागि आवश्यक पर्ने निर्माण सामग्री, सुरक्षा उपकरण, कृषि औजार, कच्चा पदार्थ, मेसिनरी र पार्टपुर्जालगायतका सामग्रीहरू उद्योगसम्म पु¥याउने सेवा दिने संचालक चन्दन सिंहले बताए ।
यसले उद्योगी तथा व्यवसायीलाई बजार–बजार धाउनुपर्ने बाध्यताबाट मुक्ति दिने उनको दावी छ । सञ्चालक चन्दन सिंहले नेपालका उद्योगहरूमा आवश्क पर्ने औद्योगिक उपकरण र त्यसका पार्टपूर्जाहरु उद्योगमा सहज रुपमा उपलब्ध नहुँदा उद्योगीहरुलाई समस्या हुने गरेकोले त्यसलाई सहज बनाउन र व्यावसायमा सम्भाव्यता देखेर शुरु गरेको बताए ।
यो प्लेटफर्मले व्यवसाय–देखि–व्यवसाय (बी टु बी) र व्यवसाय–देखि–उपभोक्ता (बी टु सी) दुवैका लागि सेवा उपलब्ध गराउने सञ्चालक राजन कार्कीले बताए । यसमा स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरू उपलब्ध हुनेछन् ।
‘बाई नेपाल’ को सुरुवातले नेपालमा औद्योगिक सामग्री खरिद–बिक्रीको डिजिटल प्रणालीमा क्रान्ति ल्याउने विश्वास लिइएको छ । यसले उद्योगी र व्यवसायीहरूलाई आवश्यक सामग्री छिटो, भरपर्दो र पारदर्शी रूपमा प्राप्त गर्न मद्दत गर्ने उद्योगी व्यावसायीहरुको अपेक्षा छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बारा पर्सा औद्योगिक क्षेत्रका उद्योगहरुमा मेशिनरी पाटपूर्जाहरु समयमा नपाएर उत्पादन रोकिने र व्यावसायमा व्यहोर्नुपर्ने घाटामा यसले समय बचत र समयमै सहज र सुलभ मूल्यमा सामान उपलब्ध गराई दिएमा औद्योगिक उत्पादनमा सहयोग पुग्ने बताए । सामान नपाएर खोज्नलाई कर्मचारी खटाउनुपर्नेदेखि मगाउनुपर्ने झण्झटलाई बाईनेपाल अनलाईनले मुक्त गर्ने बताए ।

