वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-२२, जगरनाथपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक लक्ष्मण यादवलाई वीरगञ्ज महानगरपालिकाले स्पष्टीकरण सोधेको छ। सामुदायिक विद्यालयको शिक्षक भएर महानगर प्रमुख राजेशमान सिंह र शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेकै अगाडि निजी शैक्षिक संस्थाको प्रचारप्रसार गरेपछि उनलाई कारबाहीको प्रक्रिया अघि बढाइएको हो।
संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन वीरगन्ज महानगरले आयोजना गरेको छात्रवृत्ति वितरण समरोहमा यादवले वीरगन्जको मिनील्याण्ड माविको कोअर्डिनेटर भन्दै मिनील्याण्डमाविको कक्षा ११ र १२ मा अध्ययन राम्रो रहेको प्रचार गरेका थिए ।
सरकार प्रमुख र विभागीय प्रमुखकै अगाडि सरकारी तलब खाएर निजी विद्यालयको प्रचार गरेपछि महानगर प्रमुख राजेशमान सिंहले आक्रोशित हुदै उनलाई कारवाही गर्न शैक्षिक प्रशासन महाशाखा प्रमुख अनन्द लामिछानेलाई निर्देशन दिए । उनले भने, “सरकारको तलब खाएर घमण्डका साथ निजी विद्यालयको प्रचार गर्ने शिक्षकलाई कानूनी कारवाही हुन्छ ।’
मेयर सिंहले भने, ‘यदि तपाईंले आफू कार्यरत सामुदायिक विद्यालयको गुणस्तर उत्कृष्ट छ आएर हेर्नुहोला भनेर प्रचार गर्नुभएको भए म खुसी हुने थिएँ। तर, घमण्डका साथ निजी विद्यालयको कोअर्डिनेटर भनेर प्रचार गर्नु कानूनले मिल्दैन ।” नगर प्रमुख सिंहको निर्देशनपछि शैक्षिक प्रशासन महाशाखाले शिक्षक यादवलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण माग गरेको हो।
उनलाई शिक्षा नियामावली २०५९ को परिच्छेद २२ को दफा १३३ को शिक्षक तथा विद्यार्थीले पालना गर्नुपर्नेे आचार संहिताको उपदफा १ को (ज) मा सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र जिल्ला शिक्षा अधिकारीको स्वीकृति नलिई आफू वहाल रहेको विद्यालय बाहिर काम गर्न नहुने उल्लेख गरिएकोले सोही अनुसार उनलाई स्पष्टीकरण सोधिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख लामिछानेले बताए । महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार, यादवले पाँच दिनभित्र लिखित जवाफ पेस गर्नुपर्नेछ।


