वीरगन्ज । वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा गरिब तथा असहायहरूलाई लक्षित गरी निःशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो नियमित सेवाका अतिरिक्त प्रत्येक महिना घण्टाघरमा यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ।
बैंकका सचिव कन्हैया पटेलका अनुसार, यस कार्यक्रममा नयाँ र पुराना गरी करिब ६०० थान कपडा वितरण गरिएको थियो। वीरगन्ज कपडा बैंकले विगत ६ वर्षदेखि “जससँग धेरै कपडा छ, हामीलाई दिनुहोस्; र जसलाई आवश्यकता छ, हामीसँग निःशुल्क लिएर जानुहोस्” भन्ने मूल मन्त्रका साथ सेवा प्रदान गर्दै आएको छ। बैंकको कार्यालयबाट हरेक दिन (शनिबार बाहेक) बिहान १०:३० देखि साँझ ५ बजेसम्म कपडा उपलब्ध गराइन्छ।
कार्यक्रममा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको थियो। प्रमुख अतिथि वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिले बैंकको सेवा भावनाको प्रशंसा गर्दै हरेक व्यक्तिले आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत रकम दिनदुखीको सेवामा खर्च गर्ने बानी बसाल्नुपर्नेमा जोड दिए। उनले बैंकले आगलागी र बाढीजस्ता विपत्तिमा परेका पीडितहरूलाई घर-आँगनमै पुगेर पनि सहयोग गर्दै आएको बताए।
सल्लाहकार अधिवक्ता प्रकाश उपाध्यायले बैंकले नयाँ र नयाँजस्तै पुराना कपडाहरू उपलब्ध गराएर विपन्न वर्गलाई सहयोग गरेकोमा प्रशंसा गरे। उनले सहयोगी दाताहरू र बैंक परिवारलाई धन्यवाद दिँदै यस्ता राम्रा काममा सबैलाई हातेमालो गर्न आग्रह गरे।
अध्यक्ष लालबाबू सिंहले सबैको साझा प्रयासले मात्र दिनदुखीको सेवा गर्न सम्भव हुने भन्दै सम्पूर्ण सहयोगी दाता, शुभेच्छुक, सल्लाहकार र पदाधिकारीहरूलाई आभार व्यक्त गरे। कार्यक्रममा बैंकका संरक्षक, सल्लाहकारहरू, पदाधिकारीहरू, सदस्यहरू, युवा अभियन्ताहरू र पत्रकारहरूको सहभागिता रहेको थियो।