वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउने समय बढाएको छ । भोलीदेखि सार्वजनिक बिदाको दिनबाहेक हरेक दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण संकलनसम्बन्धी सेवा उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
सेवाग्राहीको अत्यधिक चापलाई मध्यनजर गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन असार ४ गते भोलीदेखि सेवा समय विस्तार गरेर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपक कुमार पटेलले जानकारी दिनुभयो । प्रशासकीय अधिकृत पटेलका अनुसार, सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राख्दै यो व्यवस्था मिलाइएको हो ।
विगत केही दिनदेखि राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको घुइँचो बढेकाले सेवाग्राहीले लामो समय कुर्नुपर्ने अवस्था थियो । नयाँ व्यवस्थाले सेवाग्राहीहरूलाई राष्ट्रिय परिचयपत्र बनाउन थप सहज हुने र लाइनमा बस्नुपर्ने समय घट्ने अपेक्षा गरिएको छ ।
यसअघि वीरगन्ज महानगरपालिकामा पनि एउटा स्टेशन स्थापना गरेर राष्ट्रिय परिचय पत्रको विवरण दर्ता हुने गरेको थियो । त्यहाँ हुने गरेको विवरण दर्तामा जनगुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रशासन कार्यालयमा नै विवरण दर्ता गर्ने गरी स्टेशन हटाउन लगाउनुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा उक्त स्टेशन पनि ल्याएपछि सेवाग्राहीको चाप बढ्ने भएपछि समयलाई विस्तार गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।