वीरगञ्ज । चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख) मा नेपालमा विद्युतीय सवारी साधन (ईभी) को आयात ४५.९० प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार, यो अवधिमा कुल ४२ हजार १ सय २ वटा ईभी आयात भएका छन्, जुन गत आवको सोही अवधिको २८ हजार ८ सय ५६ वटाभन्दा १३ हजार २ सय ४६ बढी हो।
ईभी आयातमा यस वर्ष ३३ अर्ब ३२ करोड २१ लाख ६६ हजार रुपैयाँ बाहिरिएको छ, जुन गत वर्षको तुलनामा २७.९२ प्रतिशतले बढी हो। सरकारले ईभी आयातबाट १७ अर्ब ४७ करोड २० लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ, जुन गत वर्षको भन्दा ५९.९० प्रतिशतले बढी हो।
सरकारले वातावरणमैत्री भन्दै ईभी आयातमा प्रोत्साहन गर्दै आएको छ। यद्यपि, आगामी बजेटमा भन्सार दर बढ्ने आशंकाले व्यवसायीहरूले अहिले आयात बढाएको अनुमान गरिएको छ।
चालु आवको वैशाखसम्म विभिन्न १० मुलुकबाट ईभी गाडी भित्रिएका छन्। सबैभन्दा धेरै चीनबाट ३४ हजार ७ सय ५५ वटा अर्थात् कुल आयातको ८२.५५ प्रतिशत ईभी भित्रिएका छन्। यसैगरी, भारतबाट ७ हजार १ सय ५० वटा (१६.९८ प्रतिशत) ईभी आयात भएका छन्।