काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानका लागि थप दुई दिन हिरासतमा राख्ने अनुमति दिएको छ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटनाहरू भएका थिए। प्रहरीले सोही दिनदेखि केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए।
प्रहरीका अनुसार, उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ। राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चैत १५ गतेको प्रदर्शनका क्रममा प्रसाईं आफैंले निषेधित क्षेत्रतर्फ मोटर कुदाएर गएका थिए, जसपछि भीड अनियन्त्रित बनेको प्रहरीको भनाइ छ। प्रसाईं भने सोही दिन काठमाडौंबाट भागेर भारत पुगेका थिए। पछि प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको हो।
प्रहरीले थपिएको यसै अवधिभित्र अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ। सरकारी वकिलको कार्यालयले ६० दिनभित्र मुद्दाको अभियोजनपत्र अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान छ।