जाजरकोट । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नै कम्युनिष्ट एकताको प्रस्तावक भएको बताएका छन्। उनले जाजरकोटको भेरी नगरपालिकामा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्।
अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोटमा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाज तथा स्थानीय सरोकारवालासँग विचार आदानप्रदान गरेको थियो। सोही क्रममा उनले भने, ‘मैले नै पार्टी एकता गरेर केपी ओलीलाई प्रधानमन्त्री बनाएको हुँ। तर त्यो एकता किन टुट्यो रु त्यसको डाइग्नोसिस नगरी उपचार सम्भव छैन। हामीले इमानदारीपूर्वक मूल्याङ्कन गर्नुपर्छ।’
उनले संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोलाई सम्बोधन गर्दै संघीयताको प्रभावकारिता बढाउन सरकारलाई आग्रह गरे। जनताको सुझाव र आलोचनालाई गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमीक्षा गरेर अघि बढाइरहेको पनि उनले बताए।