रत्ननगर । पर्यटकीय नगरी सौराहाको ओद्रा सुकुमबासी बस्तीमा बस्दै आएकी इन्दिरा अधिकारी र उनीजस्ता अन्य ६ परिवारको पक्की घरमा बस्ने सपना साकार भएको छ। गरिबीका कारण राम्रो घर बनाउन नसक्दा जंगली जनावर र बाढीको त्रासमा झुप्रोमा जीवन बिताइरहेका उनीहरूले सपना भिलेज सोसल इम्प्याक्टको सहयोगमा पक्की घर पाएका हुन्।
शौचालयको समेत समस्या झेल्दै आएकी इन्दिरा अधिकारीले सपना भिलेजले शौचालयसहित पक्की घर निर्माण गरिदिएर ठूलो सहयोग गरेको बताइन्। उनले खर र खडाईले बारेको घरमा बस्दा सर्प र बाढीको जोखिम सधैं रहने गरेकोमा अब त्यो खतरा टरेको र पक्की घरमा बस्ने सपना पूरा भएकोमा खुसी व्यक्त गरिन्।
रत्ननगर नगरपालिका वडा नं–६, ओद्रा टोलमा निर्माण भएका सातवटा घरको लागत ५४ लाख २७ हजार रुपैयाँ रहेको छ। जसमा सपना भिलेजको ३३ लाख २७ हजार, रत्ननगर नगरपालिकाको १० लाख ५० हजार र सम्बन्धित घरधनीको १० लाख ५० हजार संयुक्त लगानी रहेको छ। प्रत्येक घरमा भुइँतलामा दुई कोठा, एउटा सामान्य हल र दोस्रो तलामा चोटा निर्माण गरिएको छ। एउटा घर निर्माण गर्न सात लाख ७५ हजार रुपैयाँ खर्च भएको सपना भिलेजले जनाएको छ।
सपना भिलेजका अध्यक्ष धु्रव गिरीले सौराहा जस्तो पर्यटकीय ठाउँको छेउमा पनि सुकुमबासी समुदायको दयनीय अवस्था देखेर स्थानीय सरकारसँग सहकार्य गरी घर निर्माण गरेको बताए। उनले हालसम्म ओद्राका सातसहित रत्ननगर, खैरहनी र राप्तीका ६१ विपन्न परिवारलाई घर निर्माण गरिसकेको जानकारी दिए। सपना भिलेजले विपन्न परिवारलाई घर निर्माण, सुधारिएको चुलो वितरण, बालबालिकालाई पौष्टिक आहार र चेपाङ समुदायलाई जीविकोपार्जनका कार्यक्रम गर्दै आएको पनि उनले बताए।
कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं–६ की कार्यवाहक वडाध्यक्ष बबिता चौधरीले स्थानीय सरकारको सहकार्यमा सपना भिलेजले ओद्राका सुकुमबासीलाई आवास निर्माण गरेर ठूलो गुन लगाएको बताइन्। क्षेत्रीय होटल संघ चितवनका महासचिव महेश खनाल र पर्यटन व्यवसायी गोकर्ण गिरीले पनि सपना भिलेजको यो कार्य उदाहरणीय भएको बताए। बाघमारा मध्यवर्ती सामुदायिक वनका प्रतिनिधि सुदन महतोले सुकुमबासी बस्ती विकासमा वनले सहयोग गर्ने प्रतिबद्धता जनाए।