वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले फरार रहेका १९५ जना प्रतिवादीलाई पक्राउ गरी एकै दिन अदालतमा पेश गरेको छ। विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका ती प्रतिवादीहरूलाई वैशाख ३० गते पक्राउ गरी पर्सा जिल्ला अदालतमा दाखिला गरिएको हो।
प्रहरी उपरीक्षक गौतम मिश्रको विशेष निर्देशनमा गठन गरिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले एकै दिन यस्तो संख्यामा पक्राउ गर्नु उल्लेखनीय उपलब्धि भएको जनाएको छ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी किशोर लम्सालका अनुसार फरार प्रतिवादीहरू लामो समयदेखि प्रहरीको निगरानीमा रहेका थिए। सूचना संकलन, निगरानी तथा रणनीतिक योजना मार्फत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिएको छ र अब अदालतको आदेशअनुसार थप कारबाही अघि बढाइनेछ।
जिल्ला प्रहरी कार्यालय पर्साले यस घटनालाई शान्ति सुरक्षा र कानूनी शासनको पक्षमा गरिएको ठोस कदमका रूपमा लिएको छ। साथै, आगामी दिनमा पनि फैसला कार्यान्वयनलाई उच्च प्राथमिकता दिइने र अन्य फरार प्रतिवादीहरूको खोजीलाई अझ तीव्र बनाइने प्रतिबद्धता जनाएको छ।