विराटनगर । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षाको विषयमा सरकारले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन्। उनले मजबुत शान्ति सुरक्षा कायम भए मात्रै मुलुकले विकासमा फड्को मार्न सक्ने बताए।
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले मुलुकको पहिलो आवश्यकता नै शान्ति सुरक्षा भएको बताए।
उनले भने, ‘साइबर अपराध, लागुऔषध प्रयोग, सवारी दुर्घटना र आत्महत्याका घटना बढेका छन्। यी अपराध र घटना एकअर्कासँग अन्तरसम्बन्धित छन्, निर्मम रूपमा लागेर यी घटना नियन्त्रण गर्नुपर्छ।’
पछिल्लो समय सुरक्षामा नयाँ चुनौतीहरू देखापरेको उल्लेख गर्दै उनले बदलिँदो समयसँगै देखिएका अपराधका नयाँ–नयाँ शैलीलाई विश्लेषण गरी सोही अनुसार सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिए।