३० वैशाख, काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने तयारीविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दर्ता भएको छ।
रिट निवेदकहरूले राजनीतिक दलको सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको कार्य नेपाल राष्ट्र बैंक ऐन, २०५८ विपरीत भएको दाबी गरेका छन्। उनीहरूका अनुसार, राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु उक्त ऐनको प्रावधानसँग बाझिन्छ।
अधिवक्ता प्रतीभा उप्रती र विशाल थापाले यो रिट निवेदन पेश गरेका हुन्। हालै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच डा. पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको चर्चा चलेको छ।
गभर्नर छनोट समितिका सदस्य रहेका डा. पौडेलले यही चर्चाबीच आइतबार आफ्नो पदबाट राजीनामा दिएका थिए। यसअघि गभर्नर बनाउन सहमति भएको भनिएका डा. गुणकर भट्टविरुद्ध पनि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भइसकेको छ।