सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित बकरी बजारमा आज बिहान टिपरको ठक्करबाट ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेश राज पुरीले दिएको जानकारी अनुसार, घटना बिहान करिब ५ बजे भएको हो।
पूजा गर्न जाँदै गरेका महरालाई कटारी–मिर्चैया सडकखण्डमा बा.प्र.०१–००४क २९५३ नम्बरको ढुंगा बोकेको टिपरले पछाडिबाट ठक्कर दिएको थियो। टिपर कटारीको खानीबाट मिर्चैयातर्फ आउँदै थियो। प्रहरीका अनुसार ठक्करबाट महराको घटनास्थलमै मृत्यु भएको हो। मृतकका आफन्त र प्रत्यक्षदर्शी स्थानीयवासीले टिपरले ब्याक गरेर जानाजान किचेको आरोप लगाएका छन्।
घटनापछि आक्रोशित स्थानीयवासीले मिर्चैया–७ को मुख्य सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले पीडित परिवारलाई न्याय र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। शवलाई पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा पठाइएको छ।
स्थानीय बासिन्दाले यस घटनालाई सडक सुरक्षासँग जोडेर हेरेका छन्। एक प्रदर्शनकारीले भने, “बढ्दो टिपरको चाप र लापरवाहीले हामीले दैनिक ज्यान गुमाउनु परेको छ।” प्रशासनले स्थानीयवासीसँग समन्वय गर्दै अवस्था नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको जनाएको छ।