वीरगञ्ज । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। देशभर २५६९औँ बुद्धजयन्ती मनाइँदैछ। नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्धप्रति श्रद्धा र भक्तिभाव प्रकट गर्दै यो पर्व मनाउँछन्।
इसापूर्व ५६३ मा आजकै दिन कपिलवस्तुको लुम्बिनी उद्यानमा राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट सिद्धार्थ गौतमको जन्म भएको थियो। युवावस्थामा सांसारिक दुःख देखेर विरक्तिएपछि २९ वर्षको उमेरमा उनी दरबार त्यागी तपस्यामा लागेका थिए।
इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्धगयामा बोधिवृक्षमुनि बुद्धत्व प्राप्त गरे। बुद्धत्व प्राप्तिपछि उनी गौतम बुद्ध र बुद्ध भगवान्का रूपमा चिनिए। बुद्धले दुःख निवारणका लागि तृष्णा क्षय गर्ने आठवटा मार्गको ज्ञान दिएका थिए – सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि।
उनले पहिलो पटक यो ज्ञान सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचनमार्फत दिएका थिए। ४५ वर्षसम्म आफ्ना ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसापूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण प्राप्त गरे।
भगवान् गौतम बुद्धलाई विश्व शान्तिका अग्रदूत र एसियाको ताराका रूपमा चिनिन्छ। बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिएका कारण विश्वमा बुद्ध दर्शनले एक सम्प्रदाय वा पथको रूप लिएको छ।
बुद्धजयन्तीको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। २००८ जेठ ८ गतेदेखि यो पर्वमा सार्वजनिक बिदा दिने प्रचलन सुरु भएको हो।