काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आइतबार संसदमा पेश गरेको छ।
प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।
उनले संसदले पारित गरेको नीति तथा कार्यक्रम अनुसार नै सिद्धान्तका आधारमा बजेट आउने बताए। अर्थमन्त्री पौडेलले मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयन, सबल अर्थतन्त्र निर्माण, उत्पादनमुखी विकासको ढाँचा अवलम्बन, उद्यमशीलता र उत्पादकत्व अभिवृद्धि गर्न नवीनतम प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने जानकारी दिए।
उनले अर्थतन्त्रका उदीयमान क्षेत्रलाई प्रोत्साहन गरिने, निजी क्षेत्र मैत्री, प्रतिस्पर्धी र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिइने पनि बताए।