काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको बताएका छन्। बिहीबार सदनलाई जानकारी दिँदै उनले उक्त घटनाप्रति दुःख व्यक्त गरे।
उनले यसअघि अदालतबाट हुने गरेको पत्राचारलाई कार्यान्वयन गरेझैँ यसपटक पनि सही नियतले काम गर्न खोजेको बताए।
लेखकले भने, ‘यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैँ यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहान्छु।’
लेखकले सर्वोच्च अदालतमा कार्यरत एक कर्मचारीले विवेक बाहिर गएर गरेको अनधिकृत पत्रव्यवहारका कारण घटना भएको बताए।
यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो। एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका वेला रेशम चौधरी पक्राउ परेका थिए।