काठमाडौं । चलचित्र विकास बोर्डले चार चलचित्रकर्मीलाई आर्थिक सहयोग प्रदान गरेको छ। बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले ब्रेन हेमोरेज भई ग्रीनसिटि हस्पिटलमा उपचाररत चलचित्र निर्देशक सन्तोष ढकालको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको छ।
त्यसैगरी, स्वर्गीय प्राविधिक कृष्ण तिमल्सिनाको परिवारलाई काजकिरिया खर्चका लागि पचास हजार रुपैयाँ प्रदान गरिएको छ। खुट्टा भाँचिएर आराम गरिरहेका कलाकार गोकुल सुवेदीलाई चालीस हजार र सेरोशिस रोगबाट पीडित प्राविधिक छायाँकार उमेश श्रेष्ठको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, कल्याणकारी कोषकी अध्यक्ष वसुन्धरा भुषाल, कलाकार संघका अध्यक्ष मोहन निरौला र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा सम्मिलित टोलीले ती चलचित्रकर्मीहरुको घर, अस्पताल र मृतकको किरियापुत्री भवनमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो। टोलीले बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।