धनकुटा । धनकुटामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका भोजपुर जिल्लाको षडानन्द नगरपालिका १३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको उपचारका क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।
यसअघि, दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान उपमहानगरपालिका १३ बस्ने ५१ वर्षीय रुद्र तामांग र धनकुटा नगरपालिका वडा नम्बर ६ बस्ने ७३ वर्षीया कृष्ण कुमारी राई भुजेलको पनि उपचारका क्रममा मृत्यु भएको थियो। श्रेष्ठको मृत्युसँगै दुर्घटनामा मृतकको संख्या ३ पुगेको हो।
हिजो बिहान करिब १०:१० बजे जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ६ गोठगाउँस्थित कोशी राजमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो।