काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले देश साधारण खर्च धान्नकै लागि आन्तरिक ऋण उठाउनुपर्ने अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्। सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पुनले पुँजीगत खर्च गर्ने स्पष्ट नीति नहुँदा यो समस्या आउन सक्ने बताए।
उनले भने, “पुँजीगत खर्च गर्ने नीति के हो? यसमा स्पष्ट हुन जरुरी छ। स्रोत कसरी बनाउने? साधारण खर्च नै चलाउन नसक्ने अवस्थातिर देश गएको अवस्था, आन्तरिक ऋण लिएर साधारण खर्च चलाउने अवस्थाको अन्त्य गरेर एकातिर चुस्त संरचनातिर हामी जानुपर्छ।”
संघीय संरचना थुप्रिएर बसेको अवस्थामा त्यसलाई पुनर्संरचना गरी प्रदेश र स्थानीय तहबाट सेवा प्रवाह र विकासका काम गर्नुपर्नेमा उनले जोड दिए। त्यस्ता ठाउँमा जनशक्ति पठाएर संरचनालाई छरितो बनाउनुपर्ने र संघीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।
राष्ट्रिय गौरवका योजनामा एउटा स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा जोड दिँदै उनले वर्तमान नीति तथा कार्यक्रममा त्यस्तो कुनै भिजन नआएको बताए।
संविधान संशोधन गर्नुभन्दा पहिला संघीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने उनको धारणा थियो। उपयुक्त संशोधनका लागि प्रतिपक्षको पनि सहयोग रहने विश्वास उनले व्यक्त गरे।