काठमाडौं । आइतबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका युवाहरू पनि सहभागी भएका छन्।
चैत १५ गते राजावादीको प्रदर्शनमा सहभागी भई अवाञ्छित गतिविधिमा संलग्न सिराहाका १९ वर्षीय दिनेश महतोसहित ६ जनाले थुनाबाटै परीक्षा दिएका हुन्। अन्य विभिन्न आरोपमा पक्राउ परेका पाँचजना र एक भारतीय नागरिकले पनि थुनाबाटै परीक्षा दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए।
महतो बानेश्वरस्थित लिभरपुलमा अध्यनरत थिए। अन्य पक्राउ परेकाहरूलाई पनि भद्रकाली परिसरमै परीक्षा दिने व्यवस्था मिलाइएको थियो। उपकेन्द्र बनाएर थुनामा रहेका आरोपितलाई समेत परीक्षामा सहभागी गराइएको एसपी बोहराले बताए।
परीक्षा दिनेहरूमा महतोसहित धादिङका सरोज थापा, नुवाकोटका सिमन घले, सिन्धुपाल्चोकका दावा शेर्पा, स्याङ्जाका सौगातकुमार विक र एक भारतीय नागरिक रहेका छन्।