वीरगंज । वीरगन्ज उद्योग वाणिज्य संघले स्थानीय खुद्रा व्यावसायीहरुसँग छलफल गरेको छ । संघको सभाहलमा आयोजित अन्तरकृयामा संघका अध्यक्ष हरि गौतमले खुद्रा व्यापारीहरूले भोग्दै आएका विभिन्न समस्याहरूको समाधानका लागि संघ तयार रहेको बताए।
उनले भने, “तपाईंहरूको समस्या हामीलाई जानकारी गराउनुहोस्, हामी त्यसको निराकरण गर्न तयार छौँ। तपाईंहरूकै कारणले म अध्यक्ष बनेको हुँ र तपाईहरूसँग सहकार्य गर्दा संघको गरिमा बढ्नेमा म विश्वस्त छु।”
कार्यक्रममा सहभागी खुद्रा व्यापारीहरूले भारतबाट सामान ल्याउँदा भन्सार, प्रहरी प्रशासनलगायतबाट भोग्नुपरेका समस्याहरू सुनाएका थिए।
व्यापारी रामप्रित तिवारीले राज्यलाई लाखौं कर तिरे पनि सुरक्षा र सम्मान नपाएको गुनासो गरे। अर्का व्यापारी कुन्दन रौनियारले वीरगंज–रक्सौलको खुला सिमानाका कारण उत्पन्न समस्या समाधानमा उद्योग वाणिज्य संघ र महानगरपालिकाले ध्यान नदिएको बताए।
यसैबीच वीरगंज उद्योग वाणिज्य संघले खुद्रा व्यवसायीहरूका समस्याहरूलाई ध्यानमा राख्दै गुनासो सुन्नका लागि एक हप्ताभित्र निःशुल्क टेलिफोन सेवा सुरु गर्ने भएको छ।
संघको सभाहलमा आयोजित खुद्रा व्यापारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हरि गौतमले यो घोषणा गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि पूर्वअध्यक्ष गोपाल केडियाले वाणिज्यको अनुगमनमा संघले नियमित प्रतिनिधि पठाउने र प्रत्येक महिना खुद्रा व्यापारीहरूसँग बैठक राखेर समस्या बुझ्न सुझाव दिए।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतम, बरिष्ठ उपाध्यक्ष माधव राजपाल, महासचिव शिवजी कलवार, सहकोषाध्यक्ष निरज अग्रवाल, सचिव प्रेमचन्द्र गोएललगायतका खुद्रा व्यापारीहरूको उपस्थिति थियो।