वीरगञ्ज । नेपाल-भारत सीमामा परिचय पत्र अनिवार्य गर्ने विषयमा फैलिएको समाचार आधिकारिक नभएको पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले स्पष्ट पारेका छन् । बिहीबार बिहानैदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सीमा वारपार गर्दा परिचय पत्र अनिवार्य देखाउनुपर्ने नियम लागू भएको भन्ने खबरले नागरिकमा अन्योल सिर्जना गरेको थियो ।
रक्सौलबाट फर्केका नेपाली र नेपाल प्रवेश गर्ने भारतीय नागरिकहरूले सीमा क्षेत्रमा नियमित सुरक्षा जाँचबाहेक अन्य कुनै कागजात नमागिएको बताएका छन् । नेपालतर्फ पनि सीमामा खटिएका सुरक्षाकर्मीहरूले दैनिक चेकजाँच मात्रै गरिरहेको र परिचय पत्र नमागिएको पुष्टि भएको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) र नेपालको सशस्त्र प्रहरी बलको संयुक्त बैठकमा सीमा क्षेत्रको निगरानीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भए पनि परिचय पत्र अनिवार्य गर्नेबारे कुनै औपचारिक सहमति वा निर्णय नभएको बताइएको छ ।
भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलापछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको भए पनि परिचय पत्र अनिवार्य नगरिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सीमा क्षेत्रमा नियमित सुरक्षा जाँच भइरहेको र भारतीय सुरक्षा अधिकारीहरूसँगको छलफल अनुसार नेपालतर्फ पनि सुरक्षा व्यवस्थालाई थप कडा पारिएको जानकारी दिए ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास स्रोतले पनि परिचय पत्र देखाउनुपर्ने नियमबारे कुनै औपचारिक बैठक नभएको र आधिकारिक जानकारी नआएको स्पष्ट पारेको छ ।
प्रजिअ अर्यालले सामाजिक सञ्जाल र केही समाचार माध्यममा आएका खबरहरू हल्ला मात्रै भएको र यसको कुनै आधिकारिकता नरहेको बताएका छन् । उनले नागरिकलाई अनावश्यक भ्रममा नपर्न आग्रह गरेका छन् ।