वीरगन्ज । पर्सामा अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार, कलैया उप-महानगरपालिका वडा नं. १८ का २६ वर्षीय सुधिर प्रसाद साहलाई अपहरण गरी बन्धक बनाएको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल कदम चालेको थियो।
प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नं. १२ मुर्लीस्थित एक घरमा छापा मारेर अपहरित साहलाई सकुशल उद्धार गरेको छ। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा वीरगन्ज मुर्लीका २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका वडा नं. ३ का २४ वर्षीय सिकेन्द्र साह र एक जना नाबालक रहेका छन्।
प्रहरीले सम्मानित पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुवास भट्टले जानकारी दिएका छन्।